२०८३ कार्तिक १५ गते आइतवार
काठमाडौ । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ। दुवै पक्षबीच शनिबार औपचारिक रूपमा पार्टी एकता घोषणा गर्ने तयारी गरिएको छ।
कोटेश्वरस्थित नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे विशेष एकता सभा आयोजना गरी पार्टी समायोजनको घोषणा गरिने बताइएको छ। एकतासँगै दुवै पार्टीका नेता तथा कार्यकर्ता एउटै राजनीतिक सङ्गठनमा आबद्ध हुनेछन्।
यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट अलग भएकी उमा भुजेलको अगुवाइमा छुट्टै राष्ट्रिय भेला आयोजना गरिएको थियो। उक्त भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।
कम्युनिस्ट आन्दोलनमा एकता, सहकार्य र ध्रुवीकरणको प्रक्रियालाई तीव्र बनाउने उद्देश्यले दुई पार्टीबीच समायोजन हुन लागेको बताइएको छ। यस एकताले कम्युनिस्ट राजनीतिक शक्तिहरूबीचको सहकार्यलाई थप अघि बढाउने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij