२०८३ कार्तिक १५ गते आइतवार
काठमाडौ । अस्ट्रेलियाको सिड्नी मेट्रोले नेपालीसहित विभिन्न भाषा बोल्ने यात्रुलाई सहज सेवा उपलब्ध गराउन कर्मचारीको पोसाकमा भाषागत पहिचान चिह्न (ब्याज) राख्ने व्यवस्था लागू गरेको छ।
नयाँ व्यवस्थाअनुसार मेट्रोका कर्मचारीले आफूले बोल्न सक्ने भाषाको नाम उल्लेख भएको ब्याज पोसाकमा लगाउने भएका छन्। यसबाट यात्रुले आफूले बुझ्ने भाषा बोल्ने कर्मचारी सजिलै पहिचान गर्न सक्नेछन्।
सिड्नी मेट्रोका अनुसार कर्मचारीको पोसाकमा नेपाली, पञ्जाबी, ग्रीक र स्पेनीलगायत ११ वटा भाषाका पहिचान चिह्न राखिनेछन्। श्रवणशक्ति कमजोर भएका तथा बोल्न नसक्ने यात्रुलाई सहयोग पुर्याउन अस्ट्रेलियाली साङ्केतिक भाषा ‘अस्लान’लाई समेत यस व्यवस्थामा समावेश गरिएको छ।
भाषागत पहिचान चिह्नले यात्रुलाई गन्तव्यबारे जानकारी लिन, रेल यात्रासम्बन्धी जिज्ञासा राख्न तथा मेट्रो सेवाको उपयोग गर्न सहज बनाउने अपेक्षा गरिएको छ। विशेषगरी अंग्रेजी भाषा राम्रोसँग नबुझ्ने यात्रुलाई आवश्यक सहायता प्राप्त गर्न यसले सहयोग पुर्याउनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij