२०८३ कार्तिक १७ गते मंगलवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गम्भीर सङ्कटमा परेको भन्दै सबै कम्युनिस्ट शक्तिलाई बृहत् एकतामा आउन आह्वान गरेका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले विगतमा सहकार्य गरेका शीर्ष वामपन्थी नेताहरूलाई आग्रह–पूर्वाग्रह त्यागेर एकताको अभियानमा सहभागी हुन अपिल गरेका हुन्।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, मोहनविक्रम सिंह र मोहन वैद्यलगायतका नेताहरूलाई एकतामा आउन आग्रह गरे।
‘देश सङ्कटमा छ, त्यसैले सबैखाले आग्रह र पूर्वाग्रहबाट मुक्त भएर एकताको यो महाअभियानमा जुटौँ,’ प्रचण्डले भने।
सम्बोधनका क्रममा उनले शान्ति प्रक्रियामा आएदेखि नै कम्युनिस्ट पार्टीहरूबीच एकताका लागि पटक–पटक पहल गरेको स्मरण गरे। संविधान जारी भएपछि जनताले कम्युनिस्टहरूबाट ठूलो अपेक्षा गरेकाले तत्कालीन नेकपा एमालेसँग एकताको प्रस्ताव अघि बढाएको उनले बताए।
प्रचण्डले विगतमा आफूले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै चुनावी कार्यगत एकता र निर्वाचनपछि पार्टी एकता गर्ने सहमति गरेको पनि स्मरण गरे। उक्त सहकार्यबाट निर्वाचनमा झन्डै दुईतिहाइ मत प्राप्त भएको उनको भनाइ थियो।
त्यतिबेला प्राप्त जनमत देशमा सुशासन कायम गर्न र समाजवादको आधार तयार पार्न महत्वपूर्ण अवसर भए पनि त्यसलाई जोगाउन नसकिएको उनले स्वीकार गरे।
विगतको एकता असफल भए पनि त्यसबाट निराश नभई पाठ सिक्नुपर्ने बताउँदै प्रचण्डले देश र जनताको हितका लागि पुनः एकता तथा ध्रुवीकरणको अभियान अघि बढाइएको बताए। अहिलेको सहकार्य त्यसैको सुरुआत भएको उनको भनाइ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij