२०८३ कार्तिक १७ गते मंगलवार
काठमाडौं । मधेस प्रदेश सरकारले हालै गरेको कर्मचारी सरुवामा विभेद र चलखेल भएको आरोप लगाउँदै चुरे तथा वनजंगल संरक्षण अभियानका अभियन्ताहरूले प्रदेश सरकारविरुद्ध सांकेतिक विरोध प्रदर्शन गरेका छन् ।
मंगलबार जनकपुरधामस्थित मधेस भवनको मुख्य प्रवेशद्वारअगाडि अभियन्ताहरूले मुखमा कालो कपडा बाँधेर करिब एक घण्टा धर्ना दिएका हुन् । उनीहरूले १५ देखि २५ वर्षसम्म एउटै कार्यालयमा कार्यरत कर्मचारीको सरुवा किन नगरिएको भन्दै प्रदेश सरकारसँग जवाफ मागेका छन् ।
प्रदर्शनकारीहरूले सरुवाको समयावधि पूरा भएका कर्मचारीलाई सरुवा नगर्नुको कारण र त्यसमा कसको शक्ति तथा पहुँचले काम गरेको हो भन्ने प्रश्नसमेत उठाएका छन् । उनीहरूले सरुवा प्रक्रियामा सबै कर्मचारीलाई समान मापदण्ड लागु गर्न र राजनीतिक तथा व्यक्तिगत स्वार्थका आधारमा सरुवा रोक्ने प्रवृत्ति अन्त्य गर्न माग गरेका छन् ।
चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले प्रदेश सरकारले गरेको कर्मचारी सरुवामा चलखेल भएको आरोप लगाए । उनका अनुसार वन निर्देशनालयसहित विभिन्न वन कार्यालयमा १० देखि २५ वर्षसम्म एउटै कार्यालयमा कार्यरत कर्मचारीहरू रहे पनि उनीहरूको सरुवा गरिएको छैन ।
यसअघि पनि सरुवा निर्णय सच्याउन माग गर्दै प्रदेशअन्तर्गतको वन निर्देशनालयमा ज्ञापनपत्र बुझाइएको उनले जानकारी दिए । अर्का अभियन्ता राजेश भण्डारीले वन मन्त्रालयमा मात्र नभई शिक्षा, स्वास्थ्य, यातायात र उद्योगलगायतका मन्त्रालयमा समेत सरुवा प्रक्रिया निष्पक्ष नभएको आरोप लगाए । उनले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र धर्ना दिने कार्यक्रम गरिएको बताउँदै माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए । प्रदर्शनपछि अभियन्ताहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
संयोजक यादवले छठ पर्वपछि आन्दोलन थप चर्काउने र सरुवा निर्णय सच्याउन सरकारलाई बाध्य पार्ने दाबी गरे । मधेस भवनको मुख्य प्रवेशद्वारमै प्रदर्शनकारीहरूले धर्ना दिएपछि भवनभित्र रहेका विभिन्न मन्त्रालयका कर्मचारी तथा पदाधिकारी केही समय आवतजावतमा प्रभावित भएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij