२०८३ कार्तिक १७ गते मंगलवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले देशको राष्ट्रियता, लोकतन्त्रको रक्षा र अग्रगामी रूपान्तरणको मुख्य जिम्मेवारी कम्युनिस्टहरूकै काँधमा रहेको बताएका छन्।
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँगको एकता घोषणा सभालाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले छरिएर रहेका सम्पूर्ण क्रान्तिकारी वामपन्थी शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन्।
एकता घोषणा सभामा बोल्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनमा एकता, विभाजन, विद्रोह र समायोजनका अनेकौँ शृङ्खलाहरू इतिहासदेखि नै चल्दै आएको उल्लेख गरे। कुनै पनि पूर्वाग्रह वा आशङ्का नराखी निःस्वार्थ भावनाका साथ कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउनुपर्नेमा उनले जोड दिएका छन्।
उनले भने, ‘विगतमा चिरण पुन लगायतका कमरेडहरू पहिलो चरणमा विद्रोह गरेर आउनुभयो, आज तपाईंहरू दोस्रो चरणमा आउनुभएको छ। अब आउनेहरूले विद्रोह नै गर्नुपर्दैन, सरक्कै आए पुग्ने वातावरण बन्दैछ ।’ नेताहरूमा धेरै महत्त्वाकाङ्क्षा हुन नहुने बताउँदै उनले मान्छेको क्षमता र खुबीको मूल्याङ्कन जनता र पार्टीले गर्ने भएकाले निःस्वार्थ भावले आन्दोलनमा समर्पित हुन आग्रह गरेका छन्।
पुराना कम्युनिस्ट नेताहरूलाई एकताको आह्वान सम्बोधनका क्रममा नेता नेपालले नारायणमान बिजुक्छे, मोहनविक्रम सिंह, मोहन वैद्य लगायतका पुराना र अग्रज वामपन्थी नेताहरूलाई समेत वर्तमान राजनीतिक परिस्थितिको गम्भीरतालाई मनन गर्दै बृहत् एकता र ध्रुवीकरणमा आउन अपिल गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij