२०८३ कार्तिक १२ गते बिहिवार
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उत्साहजनक वृद्धि देखिएको छ। कारोबार समयभर उतारचढावका बिच नेप्से परिसूचक ३१.५४ अंक अर्थात् १.१८ प्रतिशतले बढेर २६९५.६० विन्दुमा पुगेर बन्द भएको छ।
परिसूचकमा आएको वृद्धिसँगै बजारमा कारोबार रकम पनि बलियो देखिएको छ। आज दिनभरिमा कुल ३५० वटा स्क्रिप्सका २ करोड ३२ लाख ५८ हजार कित्ता सेयर ६९ हजार ६१९ पटक किनबेच हुँदा कुल ८ अर्ब ५७ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबारमा आएका कम्पनीहरूमध्ये अधिकांशको सेयर मूल्य बढेको छ। कुल १८१ कम्पनीको सेयर मूल्य उकालो लाग्दा ९१ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ६ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
आजको कारोबारमा बेनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १५ प्रतिशत कमाएका छन् । त्यस्तै, स्वाभिमान लघुवित्तको सेयर मूल्य ८.७२ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत र एनआइसी एसिया बैंकको मूल्य ४.६९ प्रतिशतले बढेको छ।
समूहगत रूपमा हेर्दा आज बैंकिङ समूहले वर्चस्व हासिल गरेको छ । बैंकिङ उपसमूहमा आज २.२८ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै होटल तथा टुरिजम र अन्य समूहमा समान २.०५ प्रतिशत, फाइनान्स समूहमा १.६९ प्रतिशत र विकास बैंक समूहमा १.५५ प्रतिशत वृद्धि भएको छ । बाँकी समूहहरूमा भने आज एक प्रतिशत भन्दा कमको वृद्धि देखिएको छ ।
कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रह्यो। कम्पनीको ३५ करोड ६१ लाख ६८ हजार रुपैयाँको सेयर किनबेच भएको छ। योबाहेक बैंकिङ समूहका कम्पनीहरू शीर्ष स्थानमा रहेका छन् ।
सिद्धार्थ बैंकको २५ करोड ३८ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २४ करोड २७ लाख रुपैयाँ तथा कुमारी बैंकको २३ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij