Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

कुन दिशा फर्केर लगाउने टीका ? यस्तो छ धार्मिक विधि

कुन दिशा फर्केर लगाउने टीका ? यस्तो छ धार्मिक विधि


  • 575
    Shares

    कुन दिशा फर्केर लगाउने टीका ? यस्तो छ धार्मिक विधि
    images

    काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका र समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरी हर्षोल्लासका साथ मनाइँदै छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटको शुभ साइतमा विधिपूर्वक देवी विसर्जन गरिन्छ । त्यसैगरी, टीका लगाउनका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइतका रूपमा रहेको छ । टीका लगाइदिने व्यक्ति पूर्वतर्फ र टीका लगाइमाग्ने व्यक्ति पश्चिमतर्फ फर्किनुपर्ने समितिले जनाएको छ ।

    घटस्थापनादेखि विधिपूर्वक स्थापना गरिएको जमरा र रातो टीका आज घरका मूल मानिस तथा ज्येष्ठ सदस्यबाट लगाई आशीर्वाद लिने गरिन्छ । यस अवसरमा बन्धु-बान्धवहरूका साथ बसेर भगवतीको प्रसाद ग्रहण गर्ने परम्परा छ । दसैँको टीकाले टाढा-टाढा रहेका परिवारका सदस्यहरूलाई एकै ठाउँमा जोड्ने काम गर्दछ । यस पर्वले परिवारका सदस्यहरूबिच आपसी प्रेम, सम्मान, मेलमिलाप र सद्भाव अभिवृद्धि गर्नुका साथै आफन्त, छिमेकी र सिङ्गो समुदायबिच समेत भाइचाराको भावना बलियो बनाउँछ ।

    विजयादशमीको धार्मिक तथा पौराणिक पक्षलाई मार्कण्डेय पुराणअन्तर्गत ‘देवीमाहात्म्य’ मा विशेष रूपमा वर्णन गरिएको छ । जसमा चण्डीपाठ, देवीको महिमा, दानवी शक्तिविरुद्धको सङ्घर्ष र धर्मको रक्षासम्बन्धी प्रसङ्ग तथा देवी दुर्गाको विजयको स्मरण गरिएको छ । नवरात्रभर गरिएको धार्मिक साधनाको समापन गर्दै ज्येष्ठ सदस्यहरूसँग टीका र जमरा लगाई आशीर्वाद लिने परम्परा यसैमा आधारित छ ।

    धार्मिक मान्यताअनुसार, विजयादशमीलाई देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको र भगवान् श्रीरामले रावणमाथि विजय हासिल गरेको दिनका रूपमा मनाइन्छ। त्यसैले दसैँको टीका लगाउँदा जीवनमा सधैँ सत्य, धर्म र सदाचारको विजय होस् भन्ने धार्मिक भावना जोडिएको हुन्छ ।

    दसैँमा लगाइने रातो टीकालाई शक्ति, विजय, सौभाग्य र मङ्गलको प्रतीक मानिन्छ भने जमराले उर्वरता, जीवनशक्ति र समृद्धिको सङ्केत गर्दछ । यस दिन जलले अभिषेक गरी भगवतीलाई चढाइएको रातो तथा सेतो वस्त्रलाई प्रसादको रूपमा घाँटीमा लगाउने परम्परा समेत रहेको छ ।

    प्रकाशित मिति :कार्तिक ४ २०८३ बुधवार - ०७:०८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij