Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को

बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को


  • 414
    Shares

    बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को
    images

    सुनसरी । धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ ।

    बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले बलि चढाएर दुर्गा भवानीको विशेष पूजाआराधना गरिने भएकाले बिहानैदेखि भक्तजनको भीड लागेको हो । 

    मन्दिरका पुजारी डम्बर आलेमगरका अनुसार यहाँ मनोकामना पूरा होस् भन्ने कामनासहित पूजा गर्ने र भाकल पूरा भएपछि कुखुराको भाले चढाउने परम्परा छ । भक्तजनले सुख, शान्ति, समृद्धि र मनोकामना पूरा हुने विश्वासका साथ पूजाआराधना गरिरहेका छन् ।

    यहाँ पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम र दार्जिलिङ तथा भुटानबाट समेत दर्शनार्थी आउने गरेका छन् । 

    तरहराकी निर्मला बस्नेतले दसैँका अवसरमा परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै बुढासुब्बा मन्दिरमा पूजा गर्न आएको बताए। मनोकामना पूरा हुने विश्वासका साथ आफू हरेक वर्ष भाकलअनुसार भाले चढाउन आउने गरेको उनले जानकारी दिए।

    बुढासुब्बा मन्दिरमा करिब ३० वर्षदेखि व्यापार गर्दै आएका एमडी जम्मेलले बडादसैँ सुरु भएसँगै पूजाआराधना गर्न आउने भक्तजनको सङ्ख्या बढ्ने गरेको बताए।

    महानवमीका दिन बिहानैदेखि भक्तजनको चहलपहल बढेकाले व्यापार पनि बढेकामा उनी दङ्ग छन्। उनले मन्दिर परिसरमा पूजाका सामग्रीसँगै बालबालिकाका लागि विभिन्न किसिमका खेलौना पनि बिक्री गर्दै आएका छन् ।

    एक दशकअघिसम्म बुढासुब्बा मन्दिर परिसरका बाँसमा नाम लेख्दा प्रेम अमर हुन्छ भन्ने विश्वासका साथ नाम लेख्ने चलन थियो । समयक्रममा बाँस मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तारजाली लगाएको छ । त्यसपछि बाँसमा नाम लेख्ने चलन घट्दै गएको र बाँसमा माला बाँध्ने क्रम बढेको छ ।

    प्रकाशित मिति :कार्तिक ३ २०८३ मंगलवार - १३:४१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij