२०८३ कार्तिक १७ गते मंगलवार
काठमाडौं । अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित भएको छ।
केही दिनदेखि अनलाइनमार्फत कम्पनी दर्ता गर्दा आवश्यक पर्ने वान टाइम पासवर्ड (ओटीपी) मोबाइलमा नआएपछि सेवाग्राहीको काम रोकिएको हो।
कम्पनीको नाम प्रस्ताव गर्नेदेखि दर्ता प्रक्रिया अगाडि बढाउनसम्म ओटीपी अनिवार्य हुने व्यवस्था छ। तर, सूचना प्रविधि विभागको सर्भरमा समस्या आएपछि ओटीपी जेनेरेट हुन नसकेको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी निर्माणकुमार कार्कीका अनुसार अघिल्लो सातादेखि देखिएको समस्या बीचमा केही समय समाधान भए पनि पुनः दोहोरिएको छ। प्रणाली पूर्णरूपमा बन्द नभए पनि कहिले चल्ने र कहिले रोकिने समस्या भइरहेको उनले बताए।
सफ्टवेयरमा प्राविधिक अपडेट वा परिमार्जन गर्दा समस्या आएको हुन सक्ने कार्कीको भनाइ छ।
यता, सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीले समस्या समाधानका लागि काम भइरहेको र चाँडै नै प्रणाली नियमित सञ्चालनमा आउने बताएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij