Logo

२०८३ कार्तिक १० गते मंगलवार

२०८३ कार्तिक १० गते मंगलवार

लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा

लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा


  • 253
    Shares

    लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा
    images

    काठमाडौं । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् ।

    पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई लिएर प्रहरीले लुम्बिनी बचाउ महाअभियानका संयोजक रहेका खानलाई नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको हो । खानले आफूलाई राति नियन्त्रणमा लिइएको र बिहान प्रहरी अधिकारीहरूसँगको छलफलपछि छाडिएको बताएका छन् ।

    खानका अनुसार उनी होटलतर्फ जाँदै गर्दा राति साढे १० बजे प्रसाद चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    आफूसँग पाहुना रहेकाले पछि कुरा गर्ने आग्रह गर्दागर्दै प्रहरीले जबर्जस्ती गाडीमा राखेर लुम्बिनी पुर्‍याएको उनको आरोप छ । त्यसपछि भीम अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराएर आफूलाई थुनामा राखिएको उनले बताएका छन् ।

    दिउसो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहवरमा भाइ फकरुद्दिन खाँनको जिम्मा लगाई प्रहरीले छोडेको उनले बताए ।

    छलफलका क्रममा प्रहरीले लुम्बिनी क्षेत्रमा सडक अवरोध गर्ने तथा पुत्ला दहन गर्ने गतिविधि नगरी शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न सुझाव दिएको उनको भनाइ छ ।

    पत्रकारहरूसँग आफ्नो धारणा सार्वजनिक गर्दै खानले लुम्बिनीको हकहित र विकासका लागि आफूहरूले लामो समयदेखि आवाज उठाउँदै आएको बताएका छन् । सरकारका कदम र लुम्बिनीप्रतिको बेवास्ताविरुद्ध विभिन्न चरणमा विरोध प्रदर्शन, पत्रकार सम्मेलन र सभा आयोजना गर्नुका साथै मन्त्रीहरूलाई भेटेर ज्ञापनपत्रसमेत बुझाइएको उनले बताए ।

    मन्त्रीको पुत्ला दहनलाई उनले सरकारको कार्यशैलीप्रतिको असन्तुष्टि र आक्रोशको अभिव्यक्ति भएको बताएका छन् । लुम्बिनीको विकास, संरक्षण र स्थानीयको हितका सवालमा सरकार गम्भीर हुनुपर्ने उनको माग छ ।

    संयोजक खानले आफूहरू कानुनी राज्यको सम्मान गर्ने बताउँदै लुम्बिनीवासीको हकहितका लागि अभियान जारी रहने स्पष्ट पारेका छन् ।

    “हामी भाग्ने मान्छे होइनौँ । मन्त्रीको पुत्ला जलाइएको हो र यसमा हामी पछि हट्दैनौँ । तर कानुनको सम्मान गर्दै शान्तिपूर्ण रूपमा आफ्ना माग राख्छौँ,” उनले भने ।

    उनले आफूलाई फोन गरेर बोलाइएको भए स्वेच्छाले उपस्थित हुनेसमेत बताएका छन् । लुम्बिनीको नाममा राजनीति बन्द गर्न र यस क्षेत्रलाई बुद्धमय बनाउन सरकार तथा सम्बन्धित निकायले रचनात्मक ढंगले काम गर्नुपर्ने उनको आग्रह छ ।

    खाँनसंगै प्रहरीले सार्वजनिक स्थलमा उच्छृङ्खल गतिविधि गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा पक्राउ गरेको अर्का आरोपी वाजिउद्दिन मुसलमानलाई पनि रिहा गरेको छ ।

    प्रकाशित मिति :कार्तिक १० २०८३ मंगलवार - १५:२९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij