२०८३ कार्तिक १० गते मंगलवार
काठमाडौं । नयाँ राजदूतमा भारतले सिफारिस गरेको सुधाकर दलेलाको नाममा नेपालले सहमति जनाइ सकेको छ ।
भारतले दलेलाको एग्रिमोका लागि नेपाललाई पत्र पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सो पत्रको जवाफ नेपालले पठाइ सकेको छ । भारतले अब चाँडै नै दलेलालाई नियुक्त गरेर पठाउनेछ । स्रोतका अनुसार दलेला नोभेम्बरको पहिलो हप्ता नेपाल आइपुग्नेछन् ।
नवीन श्रीवास्तव कार्यकाल पूरा गरेर फर्केपछि सो ठाउँमा दलेलालाई भारतले प्रस्ताव गरेको हो । दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनी आफ्नो कूटनीतिक यात्रा इजरायलबाट सुरु गरेका हुन् । उनले ब्राजिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डिसीस्थित भारतीय नियोगहरूमा सेवा गरिसकेका छन् ।
उनी भुटानमा भारतीय राजदूतको रूपमा पनि काम गरेर २०२५ सेप्टेम्बरदेखि विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) को रूपमा कार्यरत छन् । प्रधानमन्त्री कार्यालयमा निर्देशकको रूपमा काम गरिसकेका उनले भारतीय विदेश मन्त्रालयमा डाइरेक्टर (नर्थ डेक्स) (२००६–२००७) र पछि सहसचिव (नर्थ डेक्स) (२०१६–२०१९) को रूपमा भुटान र नेपाल पनि हेरेका छन् ।
व्यापार तथा आर्थिक नीतिको क्षेत्रका अनुभवी उनले नयाँ दिल्लीस्थित वाणिज्य विभागमा निर्देशकको रूपमा पनि काम गरिसकेका छन् । त्यस्तै, जेनेभास्थित विश्व व्यापार संगठनका लागि भारतीय स्थायी नियोगमा दुई पटक सेवा गरिसकेका छन् ।
दलेलाले अमेरिकामा विभिन्न पदहरूमा सेवा गरेका छन् । सिकागोमा भारतको महावाणिज्यदूत, वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा राजनीतिक मामिला तथा डेपुटी चीफ अफ मिसन रूपमा उनी काम गरिसकेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने तयारी गरिरहेको बेला भारतले दलेलालाई राजदूतको रूपमा कार्यभार सम्हाल्न छिटै नेपाल पठाउन लागेको हो । यता नेपालबाट पनि भारतका लागि नयाँ राजदूत चाँडै पठाउने प्रक्रिया सुरु गरिसकेको छ ।
नेपालले भारतका लागि डा.निश्चलराज पाण्डेको नाम सिफारिस गरेको छ । उनको नाम संसदीय समितिले अनुमोदन गरेपछि सहमति (एग्रिमो) लागि भारतलाई पत्र पनि पठाइ सकेको छ । भारतले त्यसको जवाफ पठाउने बित्तिकै नेपालले पाण्डेलाई नियुक्त गरेर पठाउनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij