२०८३ कार्तिक १० गते मंगलवार
काठमाडौं । न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्री ज्यासिन्डा आर्डर्न अस्ट्रेलियामा जागिर सुरु गरेकी छन् । उनी अस्ट्रेलिया बसाई सरेसँगै सिड्नी विश्वविद्यालयमा प्राध्यापक तथा मेन्टरका रूपमा जागिर सुरु गरेकी छन् ।
४६ वर्षीया आर्डर्नलाई विश्वविद्यालयले ‘प्रोफेसर अफ प्राक्टिस’ पदमा नियुक्त गरेको हो । उनले संवेदनशील नेतृत्व, सामाजिक सद्भाव र नागरिक विश्वासका विषयमा केन्द्रित रहेर काम गर्ने विश्वविद्यालयले जनाएको छ ।
उनले अतिथि व्याख्यान तथा विशेष प्रशिक्षण कक्षा पनि सञ्चालन गर्नेछिन् ।विश्वविद्यालयका अनुसार यो पूर्णकालीन अध्यापनको पद भने होइन।
आर्डर्नले आफूले समुदायलाई अझ राम्रो सेवा प्रदान गर्ने उपाय खोज्न र विकास गर्न चाहेको बताएकी छन् ।
‘पदबाट बाहिरिएपछि म विशेषगरी नेतृत्वको विषयमा केन्द्रित भएकी छु । विश्वव्यापी चुनौतीको सामना गर्न आवश्यक नेतृत्वलाई कसरी सहयोग र प्रोत्साहन गर्न सकिन्छ भन्नेबारे पनि सोचिरहेकी छु,’ उनले भनिन् ।
आर्डर्न ३७ वर्षको उमेरमा न्युजिल्यान्डको प्रधानमन्त्री निर्वाचित भएकी थिइन् । उनले सन् २०१७ देखि २०२३ सम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।
सन् २०२३ मा प्रधानमन्त्री पदबाट अप्रत्याशित रूपमा राजीनामा दिएको केही महिनापछि आर्डर्नलाई राष्ट्रसेवाका लागि ‘डेम’ उपाधि प्रदान गरिएको थियो । आर्डर्न र उनको परिवार सन् २०२६ को फेब्रुअरीमा अस्ट्रेलिया सरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij