Logo

२०८३ कार्तिक ९ गते सोमवार

२०८३ कार्तिक ९ गते सोमवार

झोलुङ्गे पुल पुनर्निर्माण नहुँदा धार्चे–२ को सम्पर्क टुट्यो

झोलुङ्गे पुल पुनर्निर्माण नहुँदा धार्चे–२ को सम्पर्क टुट्यो


  • 344
    Shares

    झोलुङ्गे पुल पुनर्निर्माण नहुँदा धार्चे–२ को सम्पर्क टुट्यो
    images

    काठमाडौं । २५ असोजमा बुढीगण्डकी नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको धार्चे गाउँपालिका–२ केरौँजा र रुन्चेत क्षेत्रको आवागमन प्रभावित भएको छ । पुल बगाएको १५ दिन हुन लाग्दासमेत पुनर्निर्माण नहुँदा स्थानीयले आवतजावत र दैनिक उपभोग्य सामग्री ढुवानीमा सास्ती खेपिरहेका छन् ।

    बाढीले धार्चे गाउँपालिका–२ को मुख्य आवागमन मार्गका रूपमा रहेको पुल बगाएपछि वडा र आसपासका बस्तीको अन्य क्षेत्रसँगको सम्पर्क प्रभावित भएको हो । स्थानीयका अनुसार खोर्लाबेँसीमा रहेको अर्को पुलसमेत बाढीले बगाएको छ । माथिल्लो क्षेत्रमा रहेको लुचेकको पुलबाट पैदल आवतजावत गर्न सकिए पनि त्यो सहज छैन ।

    पुल नहुँदा स्थानीयलाई दैनिक उपभोग्य सामग्री तथा अन्य सामान ओसारपसार गर्न समस्या भएको छ । विशेष गरी खच्चडमार्फत सामान ढुवानी गर्न नसक्दा स्थानीयको जनजीवन थप कष्टकर बनेको छ । प्रभावित क्षेत्रमा राहत सामग्री ड्रोनमार्फत पुर्‍याउन थालिएको भन्ने जानकारी आएको र त्यससम्बन्धी दृश्यसमेत सार्वजनिक भएको स्थानीयले बताएका छन् ।

    स्थानीयका अनुसार पुल सञ्चालनमा नआएसम्म केरौँजा र रुन्जितका बासिन्दाले सहज रूपमा आवतजावत गर्न तथा आवश्यक सामग्री ढुवानी गर्न सक्ने अवस्था छैन । मुख्य आवागमन मार्ग नै अवरुद्ध हुँदा स्थानीयलाई दैनिक कामकाजदेखि अत्यावश्यक सेवासम्म पहुँचमा कठिनाइ भइरहेको छ ।

    स्थानीयले प्रभावित बस्तीको जनजीवन सहज बनाउन सरकारले तत्काल झोलुङ्गे पुल पुनर्निर्माण गर्नुपर्ने माग गरेका छन् । बाढीले क्षति पुर्‍याएको पुल छिटो निर्माण गरी धार्चे गाउँपालिका–२ का बासिन्दाको आवागमन र सामान ढुवानी सहज बनाउन उनीहरूले सरकारसँग आग्रह गरेका छन् ।

    प्रकाशित मिति :कार्तिक ९ २०८३ सोमवार - १५:३५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij