२०८३ कार्तिक ५ गते बिहिवार
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ।
बिहीबार बिहान करिब ४:१० बजे ध्रुव भट्टराईको जग्गामा सञ्चालित उक्त ग्यारेजको क्यान्टिनमा आगलागी भएको हो।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयवासीको सहयोगमा बिहान करिब ४:३० बजे नै आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीमा परी क्यान्टिनमा काम गर्ने झापाको गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनामा क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीनवटा खसीबाख्रा र नगद एक लाख रुपैयाँसहित करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ।
यसैबीच, सोही ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालको मार्बल तथा टाइल्स गोदाममा समेत सामान्य आगलागी भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij