Logo

२०८३ कार्तिक ४ गते बुधवार

२०८३ कार्तिक ४ गते बुधवार

सुनवल कांग्रेस अधिवेशनमा तनाव, पूर्वमन्त्री कँडेलले कागजपत्र च्यातेपछि मतदान रोकियो

सुनवल कांग्रेस अधिवेशनमा तनाव, पूर्वमन्त्री कँडेलले कागजपत्र च्यातेपछि मतदान रोकियो


  • 2.1K
    Shares

    सुनवल कांग्रेस अधिवेशनमा तनाव,  पूर्वमन्त्री कँडेलले कागजपत्र च्यातेपछि मतदान रोकियो
    images

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगर अधिवेशनमा मतदान सुरु हुनै लाग्दा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित भएको छ । दुई पक्षबीच विवाद बढेपछि निर्वाचन समितिले तत्कालका लागि मतदान रोक्ने निर्णय गरेको हो ।

    उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी मतदानको तयारी भइरहेका बेला कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल निर्वाचनस्थलमा प्रवेश गरेपछि विवाद चर्किएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार कँडेलले उम्मेदवारको नामावलीसहितका कागजपत्र च्यातेका थिए ।

    कँडेलले ‘यो चुनाव हुँदैन’ भन्दै माइक खोसेर फालेको र निर्वाचनसम्बन्धी फाइलसमेत च्यातेपछि दुई पक्षबीच विवाद बढेको बताइएको छ । स्थिति थप तनावपूर्ण बन्न सक्ने देखिएपछि शान्ति–सुरक्षाको कारण देखाउँदै मतदान स्थगित गरिएको हो ।

    सुनवल नगर समितिका बाँकी पाँच पदाधिकारीका लागि मात्रै मतदान हुन बाँकी थियो । नगर समिति सदस्यका लागि आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेकाले ती पदमा निर्विरोध चयन भइसकेका थिए । बाँकी पदाधिकारीका लागि ३५६ मतदाता कायम गरिएको थियो ।

    सभापति पदमा यमलाल पाण्डे र यज्ञप्रसाद पाण्डेबीच प्रतिस्पर्धा तय भएको थियो । दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए । स्थानीय कांग्रेस नेताहरूका अनुसार सुनवलको नेतृत्व चयनमा देवेन्द्रराज कँडेल र भीमबहादुर थापा (भरत) पक्षबीच प्रतिस्पर्धा देखिएको छ ।

    निर्वाचन अधिकृत दीपक अर्यालले दुई पक्षबीच आवश्यक छलफल र समन्वयपछि स्थगित मतदान प्रक्रिया अघि बढाइने बताएका छन् । कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत पालिका तहका अधिवेशनहरू सञ्चालन गरिरहेको जनाएको छ ।

    नवलपरासीका सात स्थानीय तहमध्ये सुनवलबाहेक प्रतापपुर, पाल्हीनन्दन, रामग्राम, बर्दघाट, सुस्ता र सरावलमा अधिवेशन सम्पन्न भएको जनाइएको छ । सुनवलको नेतृत्व चयन भने विवादका कारण रोकिएको छ ।

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - १२:५८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij