Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

चिनियाँ धनाढ्यलाई पछि पार्दै मुकेश अम्बानी पुनः बने एसियाकै सबैभन्दा धनी

चिनियाँ धनाढ्यलाई पछि पार्दै मुकेश अम्बानी पुनः बने एसियाकै सबैभन्दा धनी


  • 253
    Shares

    चिनियाँ धनाढ्यलाई पछि पार्दै मुकेश अम्बानी पुनः बने एसियाकै सबैभन्दा धनी
    images

    काठमाडौं । भारतको रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्बानी पुनः एसियाकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् ।

    सोमबार रिलायन्सको सेयर मूल्यमा आएको तीव्र उछालसँगै उनले टिकटकको माउ कम्पनी बाइटडान्सका सह–संस्थापक चाङ यिमिङलाई पछि पारेको फोर्ब्सले जनाएको छ ।

    सोमबार भारतीय सेयर बजारमा रिलायन्स इन्डस्ट्रिजको सेयर झण्डै १२ प्रतिशतले बढेपछि अम्बानीको सम्पत्तिमा एकै दिन ८.५ अर्ब अमेरिकी डलर थपिएको थियो । यससँगै फोर्ब्स रियल–टाइम बिलियनेयर्स सूचीमा उनको कुल सम्पत्ति १०.५ प्रतिशतले बढेर ८८.८ अर्ब डलर पुगेको छ ।

    सम्पत्तिमा भएको यस वृद्धिसँगै अम्बानी विश्वकै धनाढ्यहरूको सूचीमा २३औं स्थानमा उक्लिएका छन् । उता, ८४ अर्ब डलर कुल सम्पत्ति रहेका चीनका चाङ यिमिङ भने विश्व सूचीको २५औं स्थानमा झरेका छन् ।

    रिलायन्स इन्डस्ट्रिजले दोस्रो त्रैमासिकमा विश्लेषकहरूको अनुमान (२.३ अर्ब डलर) भन्दा बढी २.७ अर्ब डलर आम्दानी गरेपछि कम्पनीको बजार पुँजीकरणमा सोमबार एकै दिन १९ अर्ब डलरभन्दा बढी थपिएको थियो । कम्पनीको उत्कृष्ट वित्तीय विवरणपछि ब्रोकरेज संस्था एभेन्डस स्पार्कले रिलायन्सको सेयर रेटिङ अपग्रेड गरेको छ ।

    यससँगै सन् २०१७ यता पहिलोपटक रिलायन्सको सेयरमा कुनै पनि विश्लेषकको ‘होल्ड’ वा ‘सेल’ (बेच्ने) सिफारिस नरहेको ब्लुमबर्गले उल्लेख गरेको छ ।

    सन् १९५७ मा धीरूभाई अम्बानीद्वारा स्थापित रिलायन्स इन्डस्ट्रिज हाल पेट्रोकेमिकल्स, तेल र ग्यास, दूरसञ्चार, खुद्रा, मिडिया तथा वित्तीय सेवाहरूमा फैलिएको छ । करिब १७० खर्ब भारु बजार पुँजीकरणसहित यो भारतकै सबैभन्दा मूल्यवान् कम्पनीको रूपमा रहेको छ ।

    रिलायन्सको सेयरमा आएको यस तेजीलाई यसको डिजिटल तथा दूरसञ्चार शाखा ‘जियो प्लेटफर्म्सको ऐतिहासिक सेयर बजार प्रवेशले पनि बल दिएको छ । अक्टोबरको अन्त्यतिर नेशनल स्टक एक्सचेन्ज (एनएसई) मा सूचीकृत हुँदा जियोको सेयर पहिलो दिनमै २७ प्रतिशतले बढेको थियो ।

    झण्डै १०६ अर्ब डलरको मूल्यांकनमा ३.२ अर्ब डलर संकलन गरेको जियोको आईपीओ भारतको इतिहासकै सबैभन्दा ठूलो आईपीओ हो । ५३ करोड ३० लाखभन्दा बढी ग्राहक रहेको यस कम्पनीमा रिलायन्सको करिब ६६ प्रतिशत स्वामित्व रहेको छ।

    यसैबीच रिलायन्स समूहकै अर्को कम्पनी ‘जियो फाइनान्सियल सर्भिसेज’ ले भने खर्चमा भएको तीव्र वृद्धिका कारण सेप्टेम्बर त्रैमासिकमा आफ्नो एकीकृत खुद नाफा ५१ प्रतिशतले घटेर ३४०.४४ करोड भारुमा सीमित भएको जनाएको छ । यद्यपि, सो अवधिमा कम्पनीको कुल आम्दानी भने झण्डै ७० प्रतिशतले बढेर १,६९९.४१ करोड भारु पुगेको छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १२:४३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij