२०८३ कार्तिक १७ गते मंगलवार
काठमाडौं । भोटेकोशी तथा कालीगण्डकी करिडोरमा विपद्बाट प्रभावित महिला, बालबालिका, किशोरी तथा जोखिममा रहेका समुदायको संरक्षणका लागि सरकारले करिब ७४ करोड रुपैयाँको कार्ययोजना कार्यान्वयनमा ल्याएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतका अनुसार प्रभावित क्षेत्रको उद्धार, संरक्षण तथा पुनःस्थापनाका लागि ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ बराबरको योजना अघि बढाइएको हो।
मंगलबार सिंहदरबारमा बसेको विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा सचिव राउतले तीन महिनाभित्र सम्पन्न गर्ने गरी भदौ ११ गते विस्तृत प्रतिकार्य योजना स्वीकृत गरिएको जानकारी दिए।
कार्ययोजनामा बाल संरक्षणका नौ, लैङ्गिक हिंसा रोकथामका २० र मनोसामाजिक सहयोगका १३ वटा क्रियाकलाप समेटिएका छन्। विपद्का कारण अभिभावक गुमाएका तथा परिवारबाट छुट्टिएका बालबालिकाको पहिचान गरी कानुनअनुसार संरक्षणको व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, प्रभावित क्षेत्रमा महिला तथा किशोरीको सुरक्षित बसोबासका लागि १० वटा महिला मैत्री स्थान स्थापना गरिएको छ। ती स्थानबाट हालसम्म २ हजार ९१० महिला र ७५७ किशोरीले सेवा लिएका छन्।
महिला तथा किशोरीको सुरक्षाका लागि नेपाल प्रहरीसँगको समन्वयमा प्रभावित क्षेत्रमा १५ स्थानमा सादा पोशाकका प्रहरी परिचालन गरी चेकपोइन्टसमेत स्थापना गरिएको थियो। साथै, प्रभावितलाई डिग्निटी किट, किशोरी किट तथा बालबालिकाका लागि बेबी प्याक वितरण गरिएको छ।
कार्ययोजना कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय सरकार, संयुक्त राष्ट्रसंघीय निकाय, विकास साझेदार तथा गैरसरकारी संस्थाहरू परिचालित भएका छन्।
विपद्पछिको क्षति तथा आवश्यकताको मूल्याङ्कन भइरहेको र त्यसको प्रतिवेदन प्राप्त भएपछि थप पुनःस्थापना तथा पुनर्निर्माणका योजना तयार गरिने मन्त्रालयले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij