२०८३ कार्तिक १७ गते मंगलवार
काठमाडौं । बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्की आएको छ । सो क्रममा ५ करोड (भारु) फिरौती माग गरिएको अमर उजालाको समाचारमा उल्लेख छ । कथित रूपमा लरेन्स बिश्नोई ग्याङको सदस्य बताउने ‘ह्यारी बक्सर’ नामको व्यक्तिले फोन गरेर अभिनेतालाई धम्की दिँदै रकम माग गरेको उक्त समाचारमा उल्लेख छ ।
यस घटनाको विषयमा अभिनेता कपुरले मुम्बई प्रहरीलाई उजुरी दिएका छन् । उक्त उजुरीपछि प्रहरीले यस घटनाको अनुसन्धान ‘एन्टी–एक्सटर्सन सेल’ र ‘क्राइम ब्रान्च’लाई सुम्पेको छ ।
क्राइम ब्रान्चको प्राविधिक टोलीले धम्कीपूर्ण फोन कलको अडियो रेकर्डिङको विस्तृत जाँच गरेको छ । अनुसन्धानको क्रममा प्रहरीले आफ्नो डेटाबेसमा रहेको ‘ह्यारी बक्सर’को आधिकारिक अडियो स्याम्पलसँग उक्त कलको आवाज दाँजेर हेरेको थियो ।
वरिष्ठ प्रहरी अधिकारीहरूका अनुसार, दुवै आवाज मेल नखाएपछि उक्त कल नक्कली भएको आशंका गरिएको छ । कसैले त्रास फैलाउने उद्देश्यले लरेन्स बिश्नोई ग्याङको नामको दुरुपयोग गरेको देखिएको हो । यस बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij