२०८३ कार्तिक १६ गते सोमवार
काठमाडौं । नेपाली काँग्रेसले पत्रकार पक्राउ तथा प्रेस स्वतन्त्रतामाथि भएको हस्तक्षेपको छानविन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । काँग्रेसको सोमवार बसेको संसदीय दलको बैठकले संसदीय विशेष छानविन समिति बनाउन माग गर्ने निर्णय गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप आपत्तिजनक रहेको बताए । उनले पत्रकार पक्राउको स्पष्ट कानूनी आधार, पक्राउ पुर्जी वा अदालतको अनुमति सार्वजनिक नगरी समाचार कक्षमै प्रहरी परिचालन गरिनु स्वतन्त्र पत्रकारितामाथिको अनुचित दबाब र विधिको शासनविपरीत भएको बताए। यस्ता घटनाको जवाफ सरकारले दिनुपर्ने उनको भनाई छ ।
सरकारको पछिल्ला विवादित गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न उठाएको उनको भनाई छ । निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालन गर्ने अधिकार भएपनि संविधान र कानूनभन्दा माथि उठ्ने अनुमति नभएको उनले स्पष्ट पारे। सरकारका जनसरोकारका काम र सुशासनका सकारात्मक प्रयासमा काँग्रेसको समर्थन रहने तर लोकतन्त्र, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण र विधिको शासनविपरीतका गतिविधिको निरन्तर विरोध गर्ने उनको भनाई छ ।
सरकारको गतिविधिले मुलुकको संवैधानिक संरचनालाई कमजोर बनाउँदै आफूअनुकूलको शासन स्थापित गर्ने प्रयास भइरहेको आशंका पैदा गरेको उनले बताए। पत्रकार धरपकडलगायत विवादित घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्र्नुपर्ने उनको भनाई छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij