२०८३ कार्तिक १२ गते बिहिवार
काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा दोब्बर भन्दा धेरैले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १३१.१३ प्रतिशतले बढेर १ अर्ब ५ करोड १४ लाख ६८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासमा बैंकले ४५ करोड ४९ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको नाफा बढ्नुमा कर्जा नोक्सानी व्यवस्था (इम्पेयरमेन्ट चार्ज) मा आएको कमी र खुद ब्याज आम्दानीसँगै गैर–ब्याज आम्दानीमा भएको वृद्धिले प्रमुख भूमिका खेलेका छन् ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि ९५ करोड ६७ लाख ७५ हजार रुपैयाँ छुट्याएको बैंकले यस वर्ष ३३ करोड ९ लाख ७६ हजार रुपैयाँ मात्रै छुट्याएको छ ।
बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानीसँगै फि तथा कमिसन आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको पहिलो तीन महिनामा १ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ९.४२ प्रतिशतले बढाएर १ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ पुर्याएको छ ।
बैंकको सेवा शुल्क तथा कमिसनतर्फको आम्दानी भने ४६.८६ प्रतिशतले बढेर ४४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । जुन गत वर्ष ३० करोड ४९ लाख रुपैयाँ मात्र थियो।
व्यापार विस्तारतर्फ बैंकले निक्षेप र कर्जा दुवैमा सन्तुलित वृद्धि गरेको छ । गत आर्थिक वर्षको अन्त्य असार मसान्तमा २ खर्ब ४८ अर्ब ९२ करोड ३४ लाख रुपैयाँ रहेको ग्राहक निक्षेप चालु आवको पहिलो त्रैमासमा २.०८ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब १० करोड ९९ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सोही अवधिमा ग्राहक कर्जा प्रवाह १.७८ प्रतिशतले बढेर १ खर्ब ९५ अर्ब ८८ करोड ४७ लाख रुपैयाँबाट १ खर्ब ९९ अर्ब ३६ करोड ७० लाख रुपैयाँ कायम भएको छ ।
सम्पत्तिको गुणस्तरमा पनि बैंकले उल्लेखनीय सुधार देखाएको छ । गत वर्षको पहिलो त्रैमासमा ३.९१ प्रतिशत रहेको निष्कृय कर्जा चालु आवको सोही अवधिमा घटेर २.८६ प्रतिशतमा झरेको छ । त्यस्तै खुद निष्कृय कर्जा पनि १.५८ प्रतिशतबाट सुधारिएर १.०८ प्रतिशतमा आइपुगेको छ । कुल खराब कर्जाको सुरक्षण क्षमता (प्रोभिजन कभरेज) १०५.४६ प्रतिशतबाट बढेर १३६.७१ प्रतिशत पुगेकाले बैंकको सम्पत्तिको गुणस्तर थप मजबुत देखिएको छ।
बजारको घट्दो ब्याजदर चक्रका कारण बैंकको फण्ड लागत, आधार दर र स्प्रेड दरमा पनि संकुचन आएको छ। बैंकको आधार दर (बेस रेट) ५.५९ प्रतिशतबाट घटेर ४.६० प्रतिशतमा र निक्षेपको लागत (कस्ट अफ फण्ड) ४.३२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशतमा सीमित भएको छ। यसैगरी बैंकको ब्याजदर अन्तर (स्प्रेड दर) पनि गत वर्षको ३.६५ प्रतिशतको तुलनामा घटेर ३.१७ प्रतिशत कायम भएको छ । बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) भने ७९.२३ प्रतिशत रहेको छ ।
नाफामा आएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ १५ पैसाबाट बढेर २९ रुपैयाँ १७ पैसा पुगेको छ । १५ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी (अग्राधिकार सेयरसहित) रहेको बैंकको जगेडा कोष ९ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ५४ पैसा र मूल्य आम्दानी अनुपात १३.४७ गुणा रहेको छ ।
पुँजी पर्याप्तता अनुपात १२.३७ प्रतिशत र प्राथमिक पुँजीकोष अनुपात ९.७० प्रतिशत कायम भएको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९९ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij