२०८३ कार्तिक ११ गते बुधवार
काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को तीन महिनामा ७ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू आवको साउनदेखि असोजसम्म ७ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो ।
यस अवधिको व्यापार गत आवको सोही अवधिको तुलनामा ४०.७१ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
चालू आवको साउनदेखि असोजसम्मको अवधि वैदेशिक व्यापारमा नेपालले ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । जुन घाटा गत आवको सोही अवधिको तुलनामा ३४.७१ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा यस्तो घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको थियो ।
भन्सार विभागका अनुसार चालू आवको तीन महिनामा ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३८.१८ प्रतिशत बढी हो । सो अवधिमा ४ खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
चालू आवको असोजसम्म एक खर्ब १४ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५७.०३ प्रतिशत बढी हो । त्यसबेला ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij