२०८३ कार्तिक ११ गते बुधवार
काठमाडौं । भारतको आन्ध्र प्रदेश र यानम तटीय क्षेत्रमा चक्रवात ‘अर्नब’ मङ्गलबार रातिदेखि जमिनमा प्रवेश (ल्यान्डफल) सुरु भएको छ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवातका कारण सो क्षेत्रमा भीषण वर्षा र तीव्र हावाहुरी चलिरहेको छ।
आईएमडीले जारी गरेको चेतावनीअनुसार चक्रवातको केन्द्रमा हावाको गति १२५ देखि १३५ किमी प्रतिघण्टा रहेको छ, जुन बढेर १५० किमी प्रतिघण्टासम्म पुगेको छ। पछिल्लो तीन घण्टामा ३ किमी प्रतिघण्टाको गतिमा उत्तर-पश्चिमतातर्फ अघि बढेको यो समुद्री आँधी सुरुमा बिस्तारै उत्तर-पश्चिम र त्यसपछि उत्तर-उत्तर-पश्चिमतर्फ अघि बढ्ने अनुमान गरिएको छ।
आईएमडीले आफ्नो बुलेटिनमा भनेको छ, ‘ल्यान्डफलको प्रक्रिया आगामी ३ घण्टासम्म जारी रहनेछ।’ बापटला र विशाखापटनमको बीचमा पर्ने यानमको दक्षिणतर्फ चक्रवात ठोक्किएको हो। सो क्षेत्रमा सतहको हावाको गति १२५ देखि १३५ किमी प्रतिघण्टा रहने र १५० किमी प्रतिघण्टासम्म पुगेर बिस्तारै घट्दै जाने मौसम विभागले जनाएको छ।
मौसम विभागले ठुलो बाढीको चेतावनी जारी गर्दै १.५ देखि २.५ मिटरसम्म अग्लो समुद्री लहर उठ्न सक्ने र यसले आन्ध्र प्रदेशका तल्लो तटीय क्षेत्रहरू डुबाउन सक्ने जनाएको छ। विशेष गरी काकिनाडा र पुडुचेरीको यानम नजिक सबैभन्दा अग्लो लहर आउने सम्भावना रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij