२०८३ कार्तिक ९ गते सोमवार
काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालभर वर्षा र हिमपातको सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रणालीको असर बिहीबारदेखि शनिबारसम्म देशका विभिन्न भागमा देखिनेछ।
विगत २४ घण्टामा देशभर कतै पनि वर्षा नभएको र मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ। हाल बङ्गालको खाडीको मध्य भू(भागमा रहेको न्यूनचापीय प्रणाली बिस्तारै पश्चिम तथा उत्तर(पश्चिम दिशातर्फ सरिरहेको छ। भारतका भू(भाग हुँदै अघि बढ्ने क्रममा यस प्रणालीले बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा तानेर नेपालतर्फ पठाउने भएकाले त्यसको प्रत्यक्ष प्रभाव यहाँको मौसममा पर्न थाल्नेछ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार सोमबार र मंगलबारसम्म देशभरको मौसम सामान्यतया सफा नै रहनेछ र कुनै मौसमी चेतावनी जारी गरिएको छैन। बुधबारदेखि भने हिमाली र पहाडी भू(भागमा आंशिक बदली सुरु हुनेछ।
बुधबार राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात तथा कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ।
बिहीबारदेखि मौसमी गतिविधि थप सक्रिय बन्नेछ। सो दिन विशेषगरी पूर्वी तथा मध्य नेपालका कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू(भागमा वर्षा र हिमपातको मात्रा बढ्नेछ। कर्णाली प्रदेशको हिमाली क्षेत्रमा समेत यसको प्रभाव देखिनेछ भने पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने आकलन गरिएको छ।
शुक्रबार यो मौसमी प्रणाली देशैभर फैलिनेछ। नेपालको वायुमण्डलमा जलवाष्पयुक्त हावा बढी केन्द्रित हुने भएकाले शुक्रबार देशका अधिकांश भागमा बदली रही मध्यम वर्षाको सम्भावना उच्च छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ भने हिमाली क्षेत्रमा भारी हिमपातको जोखिम रहेको छ। शनिबारसम्म यस प्रणालीको प्रभाव कायमै रहने र त्यसपछि मात्र मौसम क्रमिक रूपमा सुधारतर्फ जाने महाशाखाको भनाइ छ।
हाल किसानहरूले खेतबाट धानबाली भित्र्याउने मुख्य समय भएकाले यो मौसमी फेरबदलले कृषि क्षेत्रमा प्रत्यक्ष असर पार्ने देखिएको छ। यसैगरी पर्यटकीय तथा पदयात्राको अनुकूल समय भएकाले हिमाली क्षेत्रमा जाने पर्यटक तथा पर्वतारोहीहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ।
मौसम विज्ञान विभागले ‘धानबाली भित्र्याउने क्रममा रहेका किसान र हिमाली क्षेत्रमा रहेका पर्यटकले आगामी बिहीबारदेखि शनिबारसम्म उच्च सावधानी अपनाउन’ आग्रह गरेको छ। मौसम सम्बन्धी थप अद्यावधिक विवरणका लागि विभागको वेबसाइट, फेसबुक पेज वा टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij