२०८३ कार्तिक ४ गते बुधवार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी कार्यकारी सहायक नताली हार्पसहित ह्वाइट हाउसका तीन महिला सहयोगीलाई बिदा मनाउनका लागि जनही ४५ हजार अमेरिकी डलर नगद उपहार दिएको खुलासा भएको छ ।
ह्वाइट हाउसले सार्वजनिक गरेको वार्षिक वित्तीय विवरणमा हार्प, ओभल अफिस सञ्चालनकी उपनिर्देशक च्याम्बरलेन ह्यारिस र सञ्चार सल्लाहकार मार्गो मार्टिनले ट्रम्पबाट प्राप्त उक्त रकमलाई बिदाको बेलामा दिइएको नगद उपहारका रूपमा उल्लेख गरेका छन् ।
यी तीनै जना ह्वाइट हाउसका कर्मचारीको वार्षिक तलब १ लाख ५० हजार डलर रहेको सार्वजनिक विवरणमा उल्लेख छ । यस अर्थमा उनीहरूले पाएको ४५ हजार डलरको नगद उपहार उनीहरूको वार्षिक तलबको झन्डै ३० प्रतिशत हो ।
ट्रम्पले लामो समयदेखि आफू वरपरका मानिसलाई क्रिसमसको अवसरमा उपहार दिने गरेको ह्वाइट हाउसको प्रेस कार्यालयले जनाएको छ । उनले निजी क्षेत्रको व्यवसायमा रहँदा मात्रै नभएर सरकारमा रहँदा पनि कहिलेकाहीँ आफ्ना कर्मचारी तथा सहयोगीलाई यस्ता उपहार दिने गरेको कार्यालयको भनाइ छ ।
यी उपहार सम्बन्धित व्यक्तिहरूको सरकारी जिम्मेवारीसँग सम्बन्धित नभएको र लागू कानुनी तथा नैतिक मापदण्डअनुसार पूर्ण रूपमा स्वीकार्य रहेको दाबी प्रेस कार्यालयले गरेको छ । तर ट्रम्पसँग हार्पको निकट सम्बन्ध पछिल्ला केही सातादेखि विशेष चर्चामा छ । ३५ वर्षीया हार्प पूर्व दक्षिणपन्थी टेलिभिजन प्रस्तोता हुन् । उनी सन् २०२२ देखि ट्रम्पको टोलीमा छिन् र राष्ट्रपतिका गतिविधिमा निकै नजिकबाट सहभागी हुँदै आएकी छन् ।
ट्रम्पले बोल्दै गरेका ट्रुथ सोसलका पोस्टहरू हार्पले टाइप गर्ने गरेको बताइन्छ । उनी ट्रम्पसँग देशभर यात्रा गर्नुका साथै उनलाई सकारात्मक समाचार, सामाजिक सञ्जालका सामग्री तथा अन्य पत्राचार उपलब्ध गराउने काममा पनि सक्रिय रहँदै आएकी छन् । यही कारण ट्रम्पका सहयोगीहरूले उनलाई ह्युमन प्रिन्टर उपनामसमेत दिएका छन् ।
जर्जियाका डेमोक्र्याट सिनेटर जोन ओसफले हालै गरेको चर्चित भाषणमा हार्पको नाम लिएपछि उनीमाथिको सार्वजनिक ध्यान थप बढेको थियो । ओसफले ट्रम्पसँग उनको यात्राको विषय उठाएका थिए । यसैबीच, ट्रम्पका लामो समयदेखिका अर्का सहयोगी वाल्ट नाउटाले पनि राष्ट्रपतिबाट बिदाको अवसरमा उपहार पाएको बताएका छन् । नाउटाले आफ्नो वित्तीय विवरणमा ट्रम्पले आफूलाई २० हजार डलर दिएको उल्लेख गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij