२०८३ कार्तिक ४ गते बुधवार
काठमाडौं । लामो विवाद र संसद्को गतिरोधका बिच कोशी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको आगामी आर्थिक वर्ष २०८३\०८४ को बजेट पारित भएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले गत असार १ गते प्रदेश सभामा पेस गरेको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट बुधबार पारित भएको हो।
बजेट विनियोजनमा सन्तुलन नमिलाएको, मन्त्रीहरूले आफ्ना निर्वाचन क्षेत्रमा मात्रै बजेट थुपारेको र आम सांसदहरूले माग गरेका योजनाहरूलाई बेवास्ता गरेको भन्दै सत्ता पक्षकै सांसदहरूले यसको तीव्र विरोध गरेका थिए। असन्तुष्ट सांसदहरूले बजेट पुनर्लेखनको माग गर्दै हस्ताक्षर अभियान समेत चलाएपछि प्रदेश सभा बैठक पटक–पटक सूचना टाँस गरेर स्थगित हुँदै आएको थियो।
संसद्को गतिरोध अन्त्य गर्नका लागि असार १९ गते आर्थिक मामिला मन्त्री लिङ्थेप र मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बजेटमा गल्ती र कमीकमजोरी भएको सार्वजनिक रूपमा स्वीकार गरेका थिए। मन्त्री लिङ्थेपले आगामी साउनको तेस्रो साताभित्र बजेटलाई सन्तुलित बनाई समायोजन गर्ने लिखित प्रतिबद्धता जनाएपछि मात्रै संसद्मा बजेटमाथिको छलफल अघि बढेको थियो।
बजेट पारित भएपछि मन्त्रीका निर्वाचन क्षेत्रमा परेका योजना कटौती गर्न कार्यदल बनाउने सहमति भएको छ । सो कार्यदलले दिएको सुझावका आधारमा बजेट विनियोजन गर्ने सहमति भएको छ ।
१ अर्ब बराबरको बजेट सन्तुलन कायम गर्नका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सबैभन्दा बढी ५० करोड, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र सामाजिक विकास मन्त्रालयबाट १०\१० करोड रुपैयाँ, पर्यटन, वन तथा वातावरण मन्त्रालय र उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट ५र५ करोड रुपैयाँ तथा आन्तरिक मामिला र स्वास्थ्य मन्त्रालयबाट २र२ करोड रुपैयाँ स्रोत व्यवस्थापन गरेर सन्तुलन मिलाउनु पर्ने सरकारको बाध्यता छ ।
मन्त्रालयहरूबाट सङ्कलन हुने ८४ करोड रुपैयाँ र आर्थिक मामिला तथा योजना मन्त्रालयमा दोहोरिएका तथा नाम–ठेगाना स्पष्ट नभएका योजनाहरूबाट थप रकम जुटाएर १ अर्बको रकमबाट बजेट सन्तुलन मिलाउने भनिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij